• वैशाख १८, २०८१ मंगलबार
    30 Apr, 2024, Tuesday

    भारतको सहयोगमा खोटाङमा विद्यालय भवन निर्माण


    २०८० चैत्र २३, शुक्रबार

    २०८० चैत्र २३, शुक्रबार

    काठमाडौँ, २३ चैत: ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।

    बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

    दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्ति निकालेर जनाएको छ । विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो ।

    सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदैआएको छ । यो विद्यालयमा अध्ययनरत तीन सय ६५ जना विद्यार्थीमध्ये ५०% छात्रा छन् ।

    सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् ।

    उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर