• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न रामपुर क्याम्पसको आग्रह


    २०८० असोज २१, आइतबार

    २०८० असोज २१, आइतबार

    काठमाण्डौंः चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको जानकारी दिँदै विश्वविद्यालयले उनीहरुलाई स्थानान्तरण गर्न अनुरोध गरेको छ ।

    विश्वविद्यालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित इजरायली राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासँग विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ ।

    कृषि विश्वविद्यालय रजिष्टारको कार्यालय, रामपुरले आज विज्ञप्ति जारी गर्दै यहाँबाट सन् २०२२ र सन् २०२३ मा गएका सम्पूर्ण विद्यार्थीलाई हाललाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा आवश्यक सहयोगका सम्बन्धमा पहल भइरहेको जनाएको छ । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले सुरक्षाका उपाय अपनाउन र सजक रहन उनीहरुलाई अनुरोध गरेको छ ।

    कृषि कार्य अध्ययन कार्यक्रममार्फत यहाँबाट सन् २०२३ मा एक सय १३ र सन् २०२२ मा ६ विद्यार्थी भएका विश्वविद्यालयले जनाएको छ । “हालसम्म हामीलाई प्राप्त सूचनाअनुसार विश्वविद्यालयका सबै विद्यार्थी इजरायलमा सकुसल छन्”, विज्ञप्तिमा उल्लेख छ । इजरायलमा भएको आतङ्ककारी हमलाप्रति विश्वविद्यालयले खेद प्रकट गरेको छ ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर