काठमाडौंः त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा आन्दोलनरत विद्यार्थी र त्रिभुवन विश्वविद्यालय सम्बद्ध पदाधिकारीहरुबीच सहमति भएको छ । केही हप्ता अघिदेखि शुल्क वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी र पदाधिकारीबिच आइतबार ४ बुँदे सहमति भएको हो ।
उक्त सहमतिमा संस्थानले हाल वृद्धि गरेको शुल्क फिर्ता लिने, इन्जिनियरिङ विषय अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्तार हुनेगरी कर्णाली र मधेश प्रदेशमा श्रोत साधन सम्पन्न क्याम्पसहरु स्थापना गर्न प्रक्रिया अघि बढाउने, इन्जिनियरिङ अध्ययन संस्थानको विद्यमान आर्थिक संकटलाई समाधान गर्न इन्जिनियरिङ अध्ययन संस्थानभित्र सर्वपक्षीय समिति बनाई विभिन्न विकल्पमा छलफल गरी समाधान गर्ने, स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पस र अनेरास्ववियुले आयोजना गरेका सबैखाले आन्दोलनका कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिने विषयहरु उल्लेख गरिएका छन् ।
सो सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले जानकारी दिए । उनका अनुसार सोमवारदेखि क्याम्पसमा पठनपाठन सुरु हुनेछ ।