• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    विद्युत् प्राधिकरणले ९ महिनामा ११ अर्ब रुपैयाँ नाफा कमायाे


    २०८१ जेठ २५, शुक्रबार

    २०८१ जेठ २५, शुक्रबार

    काठमाण्डाैंः नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालू आर्थिक वर्षकाे चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

    प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार बिजुली खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८  करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः बिजुली बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

    प्राधिकरणले यस अवधिमा ११ अर्ब छ करोड रुपैयाँ नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गएकाे आर्थिक वर्ष २०७९/८० को त्यही अवधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो । गएकाे आर्थिक वर्षकाे मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

    प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूदेखि निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको बिजुली निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा प्राधिकरण चालू आर्थिक वर्षकाे नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको हाे ।

    प्राधिकरणले चालू आर्थिक वर्षकाे नौ महिनामा बिजुली बिक्रीबाट ६८ अर्ब ८९ करोड रुपैयाँ खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट बिजुली खरिदका लागि ३८ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

    यस अवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोड रुपैयाँको बिजुली भारतबाट आयात गरिएको छ । आन्तरिक रूपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

    आफ्नो स्रोतबाट झन्डै १८ अर्ब रुपैयाँ खर्च

    प्राधिकरणले आफूले कमाएको नाफाबाट चालू आर्थिक वर्षकाे चैत महिनासम्ममा १७ अर्ब ८२ करोड रुपैयाँ बिजुली उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनामा लगानी गरेको छ । यस अवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई एक अर्ब ६३ करोड रुपैयाँ ऋण दिएको छ ।

    सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यस अवधिमा वैदेशिक सहायतातर्फबाट १४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।

    सरकारको बजेट सीमितताका कारण प्राधिकरणले लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेकाे छैन । यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट बिजुली उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बाैँ रुपैयाँ लगानी गरिरहेको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर