• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार


    २०८० माघ ४, बिहिबार

    २०८० माघ ४, बिहिबार

    काठमाण्डौंः लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा रु १५ लाखको कारोबार भएको छ । प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास प्रवद्र्धनलगायतका प्रदर्शनी कक्ष राखिएको थियो ।

    प्रर्दशनीमा ६५ कक्ष भए पनि ६१ राखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा रु १५ लाख बढीको कारोबार भएको महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकरुपमा करिब रु तीन लाख आर्थिक कारोबार भएको छ । अध्यक्ष बस्नेतले भन्नुभयो, “प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो । यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ ।”

    प्रदर्शनीमा कर्णालीका जिल्लाबाट महिला उद्यमीले ल्याएका सामानको माग बढेको पाइएको छ । रोल्पाली सिमी, भाङ्गोलगायत खाद्यान्न सामग्री अत्यधिक बिक्री भएको महिला उद्यमी सङ्घका केन्द्रीय सदस्य सरस्वती शर्माले बताउनुभयो ।

    उहाँका अनुसार गाँजाबाट उत्पादन गरिएका टोपी, अल्लोको टोपी, कोटलगायत विभिन्न कपडाले बजार पाएको छ । प्रदर्शनीस्थलमा महिला उद्यमीले पकाएका सेलरोटी, थारु महिलाले पकाएको ढिंक्री अत्यधिक बिक्री भएको थियो ।

    उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले महिला उद्यमी सङ्घले प्रदर्शनी कक्ष निःशुल्करुपमा उपलब्ध गराएको थियो भने बाहिरबाट आउने महिला उद्यमीलाई यातायात भाडा तथा नेपालगञ्जमा बस्ने र खाने सुविधा उपलब्ध गराएको प्रर्दशनीका संयोजक रेवती सिंहले जानकारी दिनुभयो ।

    यस्तै, महिला उद्यमी ऋचा लुइँटेलले सञ्चालन गरेको गरगहनाको व्यवसायले पनि ग्राहकको मन जितेको थियो ।

    महिला उद्यमीको उत्पादनलाई बजारीकरण गर्न यस प्रकारका प्रदर्शनी वर्षमा दुई पटक विभिन्न जिल्लामा सञ्चालन गर्नुपर्ने माग उद्यमी महिलाको छ । महिला उद्यमी सङ्घले स्थानीय महिला उद्यमीले उत्पादन गरेको सामाग्रीको बजारीकरणका लागि नेपालगञ्जमा कोसेली घर पनि सञ्चालन गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर