• पुष १३, २०८२ शनिबार
    27 Dec, 2025, Saturday

    सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण गर्दै नेपाली सेना


    २०८२ पुष १३, शनिबार
    सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण गर्दै नेपाली सेना

    २०८२ पुष १३, शनिबार

    सुर्खेत । नेपाली सेनाले सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण गर्न लागेको छ । विमानस्थल परिसर हाताभित्रै रहेको नेपाली सेनाको पश्चिम एयर बेसले मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण गर्न लागेको हो ।

    कर्णाली प्रदेश सरकारको सहकार्यमा नेपाली सेनाले ९७ फिट लामो र १३ फिट गहिरो पोखरी निर्माण गर्न लागेको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै विपद् न्यूनीकरणमा सामूहिक प्रयासको आवश्यक रहेको बताउनुभयो ।

    प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै उहाँले विपद्का घटना जतिबेला पनि आउन सक्ने भएकाले पूर्व तयारीका लागि विपद् उद्धार पोखरी उपयोगी हुने जनाउनुभयो ।

    कार्यक्रममा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपद् महाशाखा प्रमुख उत्तम गौतमले मानवीय सहायता तथा विपद् उद्धार पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने बताउनुभयो । उहाँले नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण हुने यो पोखरीको लागत ९९ लाख ९६ हजार २ सय रुपैयाँ रहेको जानकारी दिनुभयो ।

    नेपाली सेनाको सुर्खेतस्थित एयर वेशले कर्णाली तथा सुदूरपश्चिमका जनताहरूलाई विपद् तथा आकस्मिक घटनाहरूको समयमा छिटोछरितो र प्रभावकारी ढङ्गबाट उद्धार तथा राहत वितरण कार्यमा मद्दत गर्दै आइरहेको छ ।

    के हो ‘बम्वी बकेट’ ?

    ‘बम्वी बकेट’ एक प्रकारको अग्निशमन उपकरण हो । यसलाई हेलिकप्टरमा झुन्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जङ्गल डढेलो वा अन्य आगलागी भएको स्थानमा खसालिन्छ । ‘बम्वी बकेट’ छिटो र सजिलो तरिकाले पानी भर्ने उपकरण समेत हो ।

    क्यानाडाई व्यापारी डाँन आर्नीले आविष्कार गरेको यो उपकरण सन १९८० देखि प्रयोगमा आएको हो । आधुनिक प्रविधिको विकासले २७० लिटरदेखि ९८४० मिटर भन्दा बढी क्षमताका विभिन्न मोडलका ‘बम्वी बकेट’ हरू प्रयोगमा आइरहेका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर