काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकको लापरवाही र विश्वविद्यालयहरूको कमजोर व्यवस्थापनका कारण एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा लामो ढिलाइ हुने गरेको स्पष्ट टिप्पणी गर्नुभएको छ।
आइतबार भक्तपुरमा आयोजित विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को ३२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पुनले चार–पाँच लाख विद्यार्थीको मात्र नतिजा निकाल्न ८–९ महिना लाग्नु अस्वाभाविक भएको बताउनुभयो। यस्तो ढिलाइ शिक्षाको समग्र सुधारका लागि चुनौती भएको उहाँको तर्क छ।
मन्त्री पुनका अनुसार नतिजा ढिलाइको मूल कारण प्राध्यापकहरूको जिम्मेवारीप्रति कमजोरी हो। “जम्मा ४–५ लाख विद्यार्थीको नतिजा सार्वजनिक गर्न ८–९ महिना लाग्नुमा प्राध्यापकहरूको लापरवाही प्रमुख कारण हो, अब यसको अन्त्य हुनैपर्छ,” उहाँले भन्नुभयो।
उहाँले विश्वविद्यालयहरू हाल सम्बन्धन (अफिलिएसन) दिने काममै केन्द्रित भएको र यसले शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर पारेको पनि टिप्पणी गर्नुभयो।
“कसले कति धेरै सम्बन्धन दिने भन्ने प्रतिस्पर्धा जस्तो छ, तर विद्यार्थी संख्या भने वर्षैपिच्छे घट्दै गएको छ,” मन्त्री पुनले औंल्याउनुभयो।
शिक्षामा खोज तथा अनुसन्धान घट्दै गएको बताउँदै उहाँले विश्वविद्यालयहरूले अब गुणस्तरीय, अनुसन्धानमुखी र आधुनिक शिक्षातर्फ ध्यान दिनुपर्ने आवश्यकता जोड दिनुभयो।
मन्त्री पुनले मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत भाग विश्वविद्यालयहरूलाई प्रदान गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो।




