काठमाडौँ, २२ कात्तिकः त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।
अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग, अन्तरराष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आज यहाँ आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा केसीले जेनजी आन्दोलनपछि मुलुकले सुशासनको परिकल्पना गरेको बताउनुभयो । पछिल्लो पुस्तालाई अन्तरराष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्रनीतिको महत्त्वबारे बुझाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
“राजनीतिक दल र नेताहरूले जनताप्रति गरेको अपारदर्शी व्यवहारको आक्रोशित रुपबाट जेनजी आन्दोलन जन्मिएको हो”, उहाँले भन्नुभयो, “तर, युवाले अन्तरराष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनीतिक महत्त्वबारे बुझ्न जरुरी रहेको देखेको छु । र युवालाई यसबारे बुझाउनु हाम्रो दायित्व पनि हो ।”
प्राध्यापक डा युवराज सङ्ग्रौला र काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा चन्द्रलाल पाण्डे जेनजी आन्दोलनपछिको राजनीतिक पद्धति र परराष्ट्र नीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
डा सङग्रौलाले जेनजी पुस्ताले चाहेको रुपान्तरणलाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै अबको शासन प्रणाली जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । डा पाण्डेले भने जेनजी आन्दोलन समग्र समाजले भोग्दै आएको असन्तुष्टिको नतिजा रहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय जगत्मा राष्ट्रिय अस्तित्व बलियो बनाउनतर्फ पनि कूटनीतिक सम्बन्धको चर्चा गर्न आवश्यक रहेकामा जोड दिनुभयो । पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले प्रस्तुत कार्यपत्रहरूमाथि टिप्पणी गर्नुभएको थियो ।
डा हरिप्रकाश चन्दले अन्तरराष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यका बारेमा धारणा राख्नुभयो । उहाँले विगतदेखि शासन सत्तामा रहेकाले परराष्ट्र नीतिलाई खासै स्थान नदिएको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्दै अन्तरराष्ट्रिय कूटनीतिक विज्ञसँग साझेदारी गर्न आवश्यक रहेको बताउनुभयो । “परराष्ट्रनीतिमा त्यससँग सम्बन्धी विज्ञमाझ छलफल र वैचारिक विमर्श हुन जरुरी छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा अन्तरराष्ट्रिय सम्बन्धका विद्यावारिधि (पिएचडी) शोधार्थी प्रशान्तकुमार विकले पछिल्लो केही वर्षमा युवा पुस्ताले देशलाई अन्तरराष्ट्रियस्तर अब्बल बनाउने ‘इन्टरनेसनल रिलेसनस्’ विषयमा रुचि देखाउन थालेका बताउनुभयो । कार्याक्रममा अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्रमुख अपेक्षा शाह पनि उपस्थित हुनुहुन्थ्यो । रासस




