• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    पिपलाडी स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन


    २०८१ फागुण १२, सोमबार
    पिपलाडी स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन

    २०८१ फागुण १२, सोमबार

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाइएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउँदै आएका छन । बर्थिङ सेन्टर चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको छ ।

    सुत्केरी हुने र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी सरसफाइमा विशेष ध्यान दिइने गरिएको स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले बताए । भर्खरै जन्मेका शिशुलाई चिसोबाट जोगाउनका लागि ‘बेबी वार्मर’ मेसिन राखिएको छ । रु. सात लाख पर्ने मेसिन सुदूरपश्चिम सरकारले स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।

    शिशुलाई चिसो लाग्न नदिनका लागि मेसिनमा राख्ने गरिएको छ । “चिसोका कारण शिशुमा देखिने समस्या मेसिन राखेपछि हटेका छन्” स्वास्थ्य चौकी प्रमुख भट्टले भने, “बर्थिङ सेन्टरमा जन्मने शिशुको मृत्यु दर शून्य रहेको छ ।”सुत्केरी हुने र कुरुवाका लागि हिटर बाल्ने व्यवस्था बर्थिङ सेन्टरमा गरिएको छ । गर्मीका बेला बर्थिङ सेन्टरमा गर्मी हुन नदिनका लागि दुई एसी जडान गरिएका छन ।

    नवजात शिशु र सुत्केरी हुने आमालाई बर्थिङ सेन्टरबाटै एक जोर न्यानो लुगा दिने व्यवस्था मिलाइएको छ । सेन्टरमा सुरक्षित रूपमा दैनिक दुईदेखि तीन जनासम्म आमाहरू सुत्केरी हुनका लागि पुग्ने गरेका छन । दुर्गम गाउँमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य रहेको स्वास्थ्य चौकी प्रमुख भट्ट बताउँछन् ।

    गर्भ जाँच गर्नका लागि स्वास्थ्य चौकीमै अल्ट्रा साउण्ड मेसिनको पनि व्यवस्था रहेको छ । बर्थिङ सेन्टर सञ्चालन भएको भवन पुरानो भएकाले रङ रोगनसँगै मर्मत सम्भारको कार्य गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिनका लागि नगरपालिकासँग माग गरिएको उनले बताए ।

    “गर्भवती तोकिएको समयभित्रै स्वास्थ्य चौकी पुगेर गर्भ चेकजाँच गराउँछन्” उनले भने, “सुत्केरी हुनका लागि बर्थिङ सेन्टरमै आइपुग्दछन् ।” पहिला बर्थिङ सेन्टर सुविधा सम्पन्न नहुँदा सुत्केरी हुनका लागि गर्भवती आमाहरू टाढाको महेन्द्रनगर र धनगढीस्थित अस्पतालसम्म पुग्ने गर्दथे ।

    अहिले दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीसँगै सेवा सुविधा थपेपछि सुत्केरी हुने आमा बर्थिङ सेन्टरमै आउने गरेको उनी बताउँछन् । जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने अवस्थाका सुत्केरी हुने महिलालाई मात्रै बाह्य क्षेत्रमा सुत्केरी हुनका लागि परामर्श दिएर पठाउने गरेको उनले बताए।

    बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीले सुत्केरी हुने आमालाई शिशुलाई दूध चुसाउने तरिका, सुत्केरी हुने आमालाई पोषिलो खाने कुरा खानका लागि सल्लाह दिने कार्य पनि हुने गरेको छ । बर्थिङ सेन्टरमा सुरक्षित रूपमा सुत्केरी हुने आमालाई सरकारी तवरबाट उपलब्ध गराइने यातायात खर्च र नियमित गर्भ जाँच गराए बापतको प्रोत्साहन रकम उपलब्ध गराइँदै आएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

    बर्थिङ सेन्टरमा नवजात शिशुलाई जन्म दिएका संगीता चौधरीले स्वास्थ्यकर्मीको सौहार्दपूर्ण व्यवहारसँगै आमा र शिशुलाई चिसो हुनबाट जोगाउनका लागि गरिएको व्यवस्था सन्तोषजनक रहेको बताइन् ।  नगर उपप्रमुख कल्पना पन्त स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा सुरक्षित रूपमा शिशु जन्माउने आमालाई ध्यू, अण्डालगायतका सामग्री प्रत्येक वर्ष निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बताउँछिन् ।

    बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाउनका लागि योजनावद्ध रूपमा कार्य अगाडि बढाउँदै लैजाने उनको भनाइ छ । नगरपालिकाका चार स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर