निजामती कर्मचारी विधेयकको माग गर्दै आन्दोलनमा उत्रिएका स्वतन्त्र निजामती कर्मचारी संगठनका अध्यक्ष र महासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन बसेका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ ।
सरकारले आफ्नो माग पूरा गर्न वास्ता नगरेकोले सिंहदरबार दक्षिण गेट अगाडि धर्ना बस्नु परेको अध्यक्ष पोखरेलले बताए ।
संगठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ ।
संघीय संसद् सुरु भएको साढे सात महिना हुँदा पनि सरकारले संघीय निजामती विधेयक संसद्मा ल्याउन सकेको छैन ।
संसद्को अघिल्लो कार्यकालमा सरकारले ल्याएको विधेयक राज्य व्यवस्था समितिले टुंग्याएर सदनमा पेश गरेको थियो । संसद्मा रहेको विधेयक सरकारले फिर्ता लगेपछि ल्याउन नसकेको हो । यो विधेयक ल्याएर पारित नहुँदा संघीयता कार्यान्वयन हुन नसकेको विज्ञहरुले बताउँदै आएका छन् ।