• माघ ६, २०८२ सोमबार
    19 Jan, 2026, Monday

    राप्रपाको मंसिर २३ को ऐतिहासिक दबाब–कार्यक्रम घोषणा, ज्ञानेन्द्र शाहीलाई आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी


    २०८२ मंग्सिर १९, बिहिबार
    राप्रपाको मंसिर २३ को ऐतिहासिक दबाब–कार्यक्रम घोषणा, ज्ञानेन्द्र शाहीलाई आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी

    २०८२ मंग्सिर १९, बिहिबार

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन जेड आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा राजा र जेन जेडसहितको नवीन समझदारीको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् ।

    आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो । अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको पत्र दिएका छन् । पत्रअनुसार समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन् ।

    समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो। बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए । बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

    बैठकमा सहभागी नेताहरूका अनुसार जेन जेड आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजासंस्थाका बीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको बताइएको छ ।

    राजसंस्थासहितको स्थायी राजनीतिक संरचना निर्माण नगरेसम्म अस्थिरता अन्त्य नहुने राप्रपाले निष्कर्ष निकालेको छ ।

    राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापन पत्र बुझाइसकेको छ । ज्ञापन पत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने, दलहरूबीच विश्वसनीय संवाद, संवैधानिक संरचनामा सुधार, राष्ट्रको स्थिरताका लागि व्यापक सहमति, र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउने आदि माग समावेश छन् ।

    आगामी मंसिर २३ को कार्यक्रमलाई राप्रपाले जेन जेड, राजनीतिक दल र राजाबीच नयाँ ‘नवीन समझदारी’ निर्माणको लागि ऐतिहासिक दबाब–कार्यक्रमका रूपमा लिएको छ ।

    जनसहभागिता, नेतृत्वको उपस्थिति, संगठनगत संरचनाको पूर्ण परिचालन र ६ जिल्लाबाट समन्वित रूपमा मोबिलाइजेसन गर्ने तयारी तीव्र भइरहेको बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर