• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा शुरु


    २०८१ श्रावण २४, बिहिबार
    रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा शुरु

    २०८१ श्रावण २४, बिहिबार

    भक्तपुर, साउन २४ गते । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षको छलफललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो ।

    सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवम् प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय ५० जना सहभागी भएका छन् ।

    ‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, सङ्गठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब÷लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत छलफल भइरहेको छ । शुक्रबार आउने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा. अच्युतम लामिछानेले जानकारी दिनुभयो ।

    बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहनुभएको छ । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ ।

    ‘‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रुपमा सुदृढ गर्न अभियानकै रुपमा ‘क्लोज क्याम्प’ गरेका हौं’’ कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भन्नुभयो, ‘‘केन्द्रले विधान संशोधनमा सुझाव मागेको छ, त्यसबारे पनि छलफल हुन्छ ।’’  अन्य प्रदेशमा भने भोलि र पर्सि ‘क्लोज क्याम्प’ हुँदैछ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर