काठमाण्डौं १९ नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एनपी साउदले निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताउनुभएको छ । अहिलेको निर्वाचन प्रणालीबाट एउटै पार्टीलाई बहुमत ल्याउन कठिन हुने भन्दै पूर्व मन्त्री समेत रहनुभएका साउदले त्यसका लागि मुख्य दलहरुबीच समझदारी जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य साउदले नेपाली काँग्रेसले विगतमा गठबन्धन गर्नु बाध्यता भएको बताउनुभयो । अब पार्टीलाई बलियो बनाउने दिशामा सबै तहका नेता तथा कार्यकर्ताले काम गर्नुपर्ने साउदको भनाई छ ।
कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्यहरु डा. डिला संग्रौला, गोविन्द बहादुर शाह र अब्दुल सत्तारले पार्टीलाई बलियो बनाउन सबै तहका नेता, कार्यकर्ता जनतामाझ पुग्नुपर्नेमा जोड दिनुभयो । त्यसक्रममा जिल्ला स्तरका नेता कार्यकर्ताले पार्टीलाई बलियो बनाउनका लागि स्थानीय स्तरमा देखिएका समस्या तथा चुनौतीबारे जानकारी गराउनुभएको थियो ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य मैकुलाल वाल्मीकि, पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।