• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


    २०८० चैत्र २१, बुधबार
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    २०८० चैत्र २१, बुधबार

    काठमाडौँ, चैत २१ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । बैठकले इलाम निर्वाचन क्षेत्र नं. २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको उम्मेदवार छान्ने छ ।

    कांग्रेस नेता मीनबहादुर विश्वकर्माका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा मङ्गलबार बसेको संसदीय बोर्डको बैठकमा प्रदेश कार्यसमितिले सिफारिस गरेका उम्मेदवारको नामावलीमाथि छलफल भएको छ । उहाँले भन्नुभयो, “उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्छ ।”

    इलाम–२ बाट निर्वाचित एमाले उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेश सभाका लागि बझाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार २५ गते दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन तय भएको हो ।

    कांग्रेस कोशी प्रदेश कार्यसमितिले नेताहरू भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्कासहित छ जनाको नाम सिफारिस गरेको छ । सभापति देउवाले इलाम जिल्ला सभापति खड्काको नाम उम्मेदवारका लागि प्रस्ताव गर्नुभएको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला नेता आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडानमा हुनुहुन्छ ।

    यसैबिच कांग्रेस संसदीय बोर्डको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा गर्नुपर्ने र राजीनामा नगरे प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर