• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य


    २०८१ फागुण ११, आइतबार
    भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य

    २०८१ फागुण ११, आइतबार

    लुम्बिनी, ११ फागुनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

    “आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस“, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन ।”

    परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि अहोरात्र खट्न आग्रह गर्नुभयो । “छिटो परिणाम दिन जरुरी छ, आयोगलाई सरकारले पूर्ण साथ र सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

    त्यसअवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासीलाई न्याय दिन गठन भएको यो अन्तिम संवैधानिक आयोग भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने बताउनुभयो ।

    “यो अन्तिम आयोग हुनेछ । विगतमा पटक–पटक आयोग गठन भए पनि समस्या समाधान हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “अब न त कोही जग्गाको मामिलामा अन्यायमा पर्छ, न त कोही भूमिहीन नै रहन्छ । हामी एकपटकका लागि देखिएका सबै समस्या समाधान गर्छौं ।”

    भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिको समस्या स्थायी रूपमा समाधान गर्न संवैधानिक अधिकार प्राप्त आयोग बनेको भनाइ राख्नुभयो । “भूमिका कारण जनता विभेदमा परेका छन् । यो आयोग संवैधानिक आयोग हो, जसले भूमि समस्या समाधान गर्छ”, उहाँले भन्नुभयो, “कुनै पनि नागरिक सम्पत्तिविहीन हुने छैन । संविधानले आवासको हक ग्यारेन्टी गरेको छ ।”

    लुम्बिनी प्रदेशमा दुई लाख ९६ हजार निवेदन सङ्कलन भएका छन् । जसका आधारमा आयोगले आफ्नो काम अघि बढाइरहेको सो अवसरमा जानकारी गराइयो ।

    प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा भूमिसम्बन्धी समस्या छ । साथै, देशभर हालसम्म १० लाख ९७ हजार निवेदन सङ्कलन भइसकेका छन् । जिल्ला तहमा गठन भएका आयोगका अध्यक्ष, सदस्य तथा सदस्य सचिवलाई एकसाथ अभिमुखीकरण गरिएको छ ।

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विगतमा भूमिसम्बन्धी समस्या समाधान हुन नसकेको बताउँदै, वर्तमान सरकारले समाधानका लागि ठोस कदम चालेको उल्लेख गर्नुभयो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर