• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    ‘सरकार नीतिगत सुधार र विकास निर्माणमा केन्द्रित छ’


    २०८१ माघ १६, बुधबार
    ‘सरकार नीतिगत सुधार र विकास निर्माणमा केन्द्रित छ’

    २०८१ माघ १६, बुधबार

    बैतडी, १६ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार नीतिगत सुधार र गुणस्तरीय विकासमा केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमार्फत भइरहेका विकासको गुणस्तरीयता मापन गर्नुपर्ने बताउनुभयो ।

    सरकारको नीति तथा कार्यक्रम एवं बजेट एक सरकारले ल्याउने र कार्यान्वयन गर्दा अर्कै सरकार हुने अवस्थाले विकास निर्माणका क्रियाकलाप अघि बढ्न नसकेको उहाँको भनाइ छ । “स्थायित्व भए मात्रै दिगो विकासको अनुभूति गर्न सकिन्छ । भारत र चीनजस्ता देश दीर्घकालीन सरकारकै कारण द्रुत विकास गरिरहेका छन्,” मन्त्री भण्डारीले भन्नुभयो, “राजनीतिक स्थायित्व आवश्यक छ, प्रणालीभित्र पनि नीतिगत त्रुटी छन्, यसलाई सच्याउनुपर्नेछ, त्यसमा सरकार लागेको छ ।”

    वर्तमान सरकार नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ क्रियाशील रहेको बताउँदै मन्त्री भण्डारी केही नीतिगत र कानुनी समस्याका कारण लगानीको वातावरण बन्न नसकेको दाबी गर्नुभयो । उहाँका अनुसार लगानीको वातावरण सिर्जना गर्नकै लागि अध्यादेशमार्फत केही कानुनमा संशोधन गरिएको छ ।

    देशमा सुशासन, विकास र स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाएको दाबी गर्दै मन्त्री भण्डारीले नागरिकमा रहेका तमाम निराशा चिर्न सरकारले काम गरिरहेको बताउनुभयो । आयात प्रतिस्थापन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशी र विदेशी लगानी भित्र्याउने लगायतका काममा आफ्नो मन्त्रालयले काम गरिरहेको मन्त्री भण्डारीले बताउनुभयो ।

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पालले समग्र प्रदेशको भौतिक विकासका लागि आवश्यक पर्ने सहयोग जुटाउन आफूले निरन्तर पहल गरिरहने बताउनुभयो । उहाँले विगतमा बजेट निर्माणमा भएका कमजोरीलाई सुधार गरेर अघि बढिरहेको बताउनुभयो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर