अछाम, १५ पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जिल्ला समन्वय समिति बलियो भएमात्र जिल्लाको विकास तथा सेवा प्रवाह प्रभावकारी हुने बताउनुभएको छ ।
आज यहाँको जिल्लासभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले समन्वय समितिलाई संविधानले परिकल्पना गरेबमोजिम प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विकास र समृद्धिको पाटोमा डो¥याउन आफू प्रयत्नरत रहेको उहाँको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती ऐन पारित गरिसकेकाले अब सदनबाट स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पारित हुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने सामान्य कुरामा प्रदेश र केन्द्र सरकारले हस्तक्षेप गरेको स्थानीय तहका जनप्रतिनिधिले आरोप लगाए । प्रदेश सरकारका योजना स्थानीय तहसँग समन्वय नगरी भुक्तानी हुने गरेकाले स्थानीय तहलाई जानकारी गराउनुपर्ने मुख्यमन्त्री शाहले बताउनुभयो ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न जिल्लासभामा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, पुष्पबहादुर शाह, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, प्रदेशसभा सदस्य मानबहादुर रावललगायतले शुभकामना दिनुभएको थियो ।