विश्व वातावरण दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका, जनक माध्यमिक विद्यालय र सब डिभिजन वन कार्यालय, नमोबुद्धको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोबल आइ.एम.ई. बैंक, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक लगायत वित्तिय संस्थाहरूले समेत साथ दिए ।
सरसफाईको क्षेत्रमा नगरपालिकालाई अग्रपंक्तिमा रहेर सदैव साथ दिँदै आएका नेपाली सेनाले आजको कार्यक्रममा समेत बाक्लो उपस्थिति देखाएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, नेपाल प्रहरी, जनक मा.वि.का शिक्षक तथा विद्यार्थीहरू, राजनीतिक दलका प्रतिनीधिहरू र व्यवसायीहरूको सक्रिय सहभागितामा भकुण्डे बजार र राजमार्ग छेउछाउ सरसफाई गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख कुनसाङ लामाले गरेका थिए । विशिष्ट अतिथिमा नगरपालिकाका उपप्रमुख रत्न बहादुर लामा, अतिथिहरूमा प्र.प्र.अ. शेष कान्त पौडेल, उपसचिव एवं शिक्षा शाखा प्रमुख कल्पना घिमिरे, वडा नं. १ देखी ११ सम्ममा वडा अध्यक्ष, विद्यालयका प्र.अ., नेपाली सेनाका प्रतिनिधि, बैंकका शाखा प्रमुख लगायतका व्यक्तिहरू थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सरसफाई एकदिन मात्र नभएर सधैभरी नियमित रूपमा गर्नुपर्ने, वातावरणलाई प्रतिकुल पार्ने हाम्रो मानवीय स्वभावमा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए । त्यस्तै वडा नं. ७ का वडा अध्यक्षले व्यवसायीहरू व्यापार सँगसँगैसरसफाईमा पनि ध्यान दिनुपर्ने, आफ्नो पसल र घर अगाडी आफैले अनिवार्य सरसफाई गर्नुपर्ने विषयमा जोड दिए ।
जनक मा.वि.मा अध्ययनरत विद्याथीहरूले एउटा गीत, एउटा नृत्य र एउटा सडक नाटक प्रस्तुत गरेका थिए । वातावरण प्रदुषणका मुख्य कारक को हो? त्यसको असर कसरी फैलिरहेको छ? समाधानको निम्ति के गर्न सकिन्छ र गर्नपर्छ ? भन्ने सन्देशमूलक सडक नाटकले सबैको ध्यानाकर्षण गरेको थियो । उक्त नाटकको रचना एवं निर्देशन सोही विद्यालयकी मा.वि. तह नेपाली शिक्षिका जुनु श्रेष्ठले गरेकी हुन् ।
बजार क्षेत्रको सरसफाइ एवं सन्देशमूलक कार्यक्रम पश्चात प्रभातफेरी सहित जनक मा.वि.मा वृक्षरोपणको लागि पुगेको थियो । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायतले विद्यालयको परिसरमा वृक्षरोपण गरी कार्यक्रम समापन गरका थिए । उक्त कार्यक्रम जनक बहुमुखी क्याम्पसका सह प्राचार्य हरिहर अधिकारीले सञ्चालन गरेका थिए ।