काठमाडौंः पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको जनाउनु भएको छ ।
बडा दसैँ २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा पूर्व राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको वाहकका रूपमा यस पर्वले हामीलाई आपसमा जोडिरहेको जनाउनु भयो ।
उहाँले यस्ता पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने मैले विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशको पूर्णपाठ-
हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन् । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैँ पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ । वर्षा ऋतुको कृषि कर्म सकिएपछि सुरम्य शरद ऋतुमा किसानले थकान मेटेर आराम र मनोरञ्जनसँगै सन्तुलित भोजन ग्रहण गर्ने पर्वका रूपमा दसैँको विशिष्ट महत्त्व छ ।
देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशिर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ । दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष हो, जसले हाम्रो प्रकृतिपूजक समुदायमा विद्यमान मातृशक्तिको प्रमुखतालाई अभिव्यक्त गर्दछ । दसैंले यसरी हाम्रो समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको छ ।
ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको छ । कृषिबाट क्रमशस् अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन ।
तथापि देशविदेशमा छरिएका परिवारका सदस्य बीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिने जस्ता मौलिक परम्पराले गर्दा बडा दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ । विदेशमा पनि नेपाली संस्कृतिको वाहकका रूपमा यस पर्वले हामीलाई आपसमा जोडिरहेको छ ।
यसबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने मैले विश्वास लिएको छु ।
अन्तमा, बडा दसैँ, २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ पुनस् हार्दिक शुभकामना व्यक्त गर्दछु ।