• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    अभिभावकको सक्रियतामा शैक्षिक सुधार अभ्यास


    २०८१ फागुण २३, शुक्रबार
    अभिभावकको सक्रियतामा शैक्षिक सुधार अभ्यास

    २०८१ फागुण २३, शुक्रबार

    फुङ्लिङ(ताप्लेजुङ) २३ फागुनः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयमा अभिभावक नै शैक्षिक सुधारका लागि सक्रिय बनेका छन् ।

    विद्यालयमा विद्यार्थी र शिक्षकका अलावा अभिभावक पनि हरेक दिन उपस्थित हुन्छन् । उहाँहरू पढ्न वा पढाउन आउने होइनन्, बरु विद्यालयको अनुशासन, हाजिरी र पठनपाठन प्रभावकारी छ कि छैन भनेर निगरानी गर्नुहुन्छ ।

    विद्यालयका अभिभावकले पालो मिलाएर दैनिक रूपमा एक जनाले विद्यालयमा समय बिताउँछन् । उहाँहरूले हरेक कक्षा अवलोकन गर्ने र देखेका पक्ष विशेष रेकर्ड फाइलमा टिपोट गर्नुहुन्छ । मासिक विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावकले उल्लेख गरेका कमजोरीमा छलफल गरेर सुधारका उपाय खोजिन्छ । अभिभावकले विद्यालयमा निगरानी गर्दा शिक्षक र विद्यार्थी दुवै अनुशासित बन्न थालेका तथा पढाइ सुधारमा मद्दत गरिरहेको अभिभावक नेत्रकला लिम्बूको भनाइ रहेको छ ।

    विद्यालय व्यवस्थापन समितिले पनि यो अभ्यासलाई महत्वपूर्ण ठानेको छ । अभिभावकको निरन्तर संलग्नताले विद्यालयमा अनुशासन मात्रै होइन, विद्यार्थीको सिकाइस्तर पनि सुधारिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक लिम्बू बताउनुहुन्छ ।

    विद्यालयको शैक्षिक सुधारका लागि ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले विगत एक दशकदेखि सहकार्य गर्दै आएको छ । ह्युमन प्राक्टिस फाउण्डेसनको सहयोगमा आधुनिक सुविधा थपिएको छ । विद्यालयमा पक्की भवन, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालय जस्ता स्रोतसाधन छन् ।

    तीन वर्षअघि १६० विद्यार्थी रहेको विद्यालयमा अहिले २६५ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा भौतिक संरचना मात्रै होइन, शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउने प्रयास भइरहेको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)का प्रबन्धक राजेन्द्र पन्तको भनाइ रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर