• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर


    २०८१ भाद्र १२, बुधबार
    निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

    २०८१ भाद्र १२, बुधबार

    काठमाडौँ, १२ भदौः जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु रु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ ।

    अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लािग जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गर्नुभयो । सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

    सम्झौतासँगै नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ । ‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन् । यस वर्ष २० जना स्नातकोत्तर र दुईजना विद्यावारिधि गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।

    जापान सरकारको सहयोगमा त्यहाँका मानव संसाधन विकास छात्रवृत्ति कार्यक्रम (जेडिएस)अनुसार सन् २०१६ देखि नेपालले यो अवसर पाइरहेको छ । हालसम्म एक सय ८७ निजामती सेवाका अधिकारीले छात्रवृत्ति प्राप्त गरिसक्नुभएको छ ।

    सो अवसरमा अर्थ सचिव घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाका कर्मचारीको क्षमता अभिवृद्धि हुने र यसबाट सिङ्गो मुलुक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि जापानी राजदूत किकुताले नेपालका निजामती सेवाका कर्मचारीलाई दक्ष बनाउन छात्रवृत्ति कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा अर्थ मन्त्रालय र जाइका नेपालका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर