अब सवारी चालक अनुमतिपत्र बाटै नागरिक एप भेरिफाई गर्न सकिने भएको छ । नागरिक एपमा आएको पछिल्लो अपडेटसँगै यो सुविधा थपिएको हो ।
यसअघि राहदानी, नागरिकता र मतदाता परिचयपत्रबाट नागरिक एपमा खाता खोल्न सकिने अवस्था थियो । अब भने प्रयोगकर्ताले स्मार्ट लाइसेन्स राखेर नागरिक एपको खाता खोल्न तथा प्रमाणीकरण गराउन सक्नेछन् ।
नागरिकता, मतदाता परिचयपत्र र राहदानी प्रयोग गरी नागरिक एप प्रमाणीकरण गर्न नसकेका प्रयोगकर्ताका लागि यो सुविधाले सहजता ल्याउने अपेक्षा गरिएको छ ।
तर पुराना कागजी लाइसेन्सले भने यसक्रममा काम गर्ने छैन । केही साताअघि मात्र एपमा ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिने फिचर आएको थियो ।
नागरिक एपमा प्यान नम्बर लिन, पुलिस क्लियरेन्स रिपोर्ट लिन, सवारी कर विवरण हेर्न तथा तिर्न सकिने सुविधाका साथै हेलो सरकारमा नागरिकका गुनासो टिपाउन सकिने सुविधा उपलब्ध छ ।
त्यस्तै एपमा नजिकै रहेको प्रहरी कार्यालयहरूको जानकारी, मालपोतमा रहेको आफ्नो जग्गाको विवरण, स्वास्थ्य बीमाको सुविधा, कोरोना भ्याक्सिनको सर्टिफिकेट प्राप्त गर्न सकिने लगायतका सुविधा समेत छन् ।