• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    पर्यटन प्रवर्द्धनका लागि प्रदेश स्तरीय गोष्ठी सम्पन्न


    २०८१ असोज ११, शुक्रबार
    पर्यटन प्रवर्द्धनका लागि प्रदेश स्तरीय गोष्ठी सम्पन्न

    २०८१ असोज ११, शुक्रबार

    पोखरा । गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधीहरुको प्रदेश स्तरीय गोष्ठी शुक्रबार लेखनाथमा सम्पन्न भएको छ ।

    लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । प्रदेश सरकारले आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा पर्यटकीय राजधानीका रूपमा विकास गर्न कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

    सीमित स्रोत साधनबिच पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले पोखरामा संसारभरिका नागरिकलाई आकर्षित गर्ने थलोका रूपमा विकास गरिने बताउनुभयो ।

    पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न आफैँले विभिन्न देशका प्रतिनिधि र एयरलाइन्स कम्पनीसँग कुराकानी गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

    उक्त अवसरमा गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले पर्यटन नीति बनाएर विदेशी पर्यटक बढीभन्दा बढी भित्र्याउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । विविधतापूर्ण नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या अत्यन्तै न्यून भएकाले भारत र चीनबाट मात्र पर्यटक तान्न सके पनि पोखरामा लाखौँ पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ ।

    गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारको सफलतामा उद्योगी व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै सरकारको सफलतामा सबै प्रदेशवासीको सफलता हुने बताउनुभयो ।

    कार्यक्रममा पर्यटकीय सम्भावना तथा विकास सम्बन्धमा पर्यटन विज्ञ श्रीकान्त शर्मा खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सरकारका साथै लगानीमैत्री वातावरण सृजना गर्न सम्पुर्ण प्रदेशवासी लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर